Tuesday, 24 September 2019

शशी

धेरै दिन पछि आज फेरी दिन उज्यालो भएको थियो । दिन उज्यालो भए पनि घामको किरण भने त्येति चम्किलो भने थिएन । घाम र बादलको लुकामारी भए झै भान भइरहेथ्यो, घरि बेस्सरी घाम लाग्थ्यो एक्कैछिनमा बादलले घामलाई निस्तेज पाथ्र्यो । मानौ यहाँ कुनै नाटक मञ्चन भइरहेको थियो र म नाटकको एक दर्शक बनिरहेको थिएँ । कहिल्यै नसक्किने रातहरु, रात भरि बगेका अश्रु धाराले डम डम सुन्निएका आँखाहरु र झिझो लाग्दो भएको मेरो एक थान शरीर । बादलको घुम्टो उघारेर फेरी घामले आकाशमा आफ्नो साम्राज्य कायम गरिसकेको थियो र त्यसको प्रकाशले आँखाको पीडालाई उक्साउदै थियो । चम्किलो प्रकाशले मेरा पीडाहरुलाई गिज्याउदै खित्का छोडेझै लाग्यो । र म आफ्नै पीडाहरुमा कुनै तर्कना नगरी नतमस्तक थिए । यत्तिकैमा खङ्ग्रङग आवाज आयो । झस्किए पनि । पट्के बिरालो पो रैछ । दुध चोर्न पल्केको यो मापाकोलाई कहिले तह लगाउनै सकिएन । अम्खराको पानी छताछुल्ल आँगन भरि भयो । मेरी सानी पुतली शशी हुँन्थी त आफ्नो सानो फुरफुरे जामा उचाल्दै ठस् ठस् कन्दै लाग्थी होली आँगन बढार्न । पिल पिल गर्ने पुतली झै उसका आँखा, बाक्ला परेला, बाटुलो चेहरा अनि सेतो जामा, उसको हाउभाउ र मीठो बोलि, लाग्थ्यो अशान्त र कोलाहलमय यस घरको वातावरयामा रस भरेकी थि उसले । यहाँको निर्जीवपनमा जीवन्तताको परिभाषा प्रष्ट्याएकी थिई । म माथि यस घरका सदस्यहरुको आक्रोश र असन्तुष्टि ऊ आफ्नो अवोधता बाटै निवारण गरिदिन्थी । ऊ मेरो संरक्षक जस्तै लाग्थ्यो घरिघरि । शशी चार लागिसकेकी थिई र म यो घर भित्रिएको पनि पाँच वर्ष नाघेछ । सासु आमाको क्षुद« वचन र पतिको दिन रातको कुटाईको मारमा पर्ने म घरेलु हिंसाको सिकार बनिसकेको छु । रक्सीको नशामा लिप्त भएर मलाई कुट्न मात्र जानेको लोग्ने भनौदोको विरुद्ध लड्न मेरो हिम्मतले कहिल्यै काम गरेन तर कति हिम्मतवाली थि मेरी शशी । खै त्यो बालखले के बुझेकी थि, आफु झै नम्र पाराले बाउलाई सिर्कनुले हिर्काउदै पो रैछे दुख्ला झै गरेर । आमालाई दुख्यो नकुट भन्दै काहालिदै थी । रक्सीको नशामा भए पनि छारीलाई खुब प्यार गर्ने, फुल्याउन बाहिर लगिहाल्थ्यो । शशीको अबोधता देखेर कहिले च्याप्पै समातेर माया गरु झै लाग्थ्यो त कहिले मन्द मन्द हाँसिदिन । हाँसेछु पनि पीडै भए पनि एकैछिन त ।

चार दिन भइसकेछ शशीलाई जंगल पु¥याएको र म भने भर्खर लामो निन्द«ाबाट तङ्ग्रिएकी जस्तै भएथेँ । घाँस जानुथ्यो । पानी घट्टा पनि खोल्नुथ्यो अर्को दिनबाट । असारमासको समय थ्यो । दुई महिना जोतिएर वर्ष भर खान पु¥याउन पर्ने । आशा थिएन फेरी जागौला तर फेरि सोचे सास फुलाउँदै त्यी बुढाहरु कति पारिबाट आउँथे भारीका भारी अन्न कुटाउन । आफुलाई झक्झकाएँ जीवनका त्यस अस्ताउँदो उमेरमा दमले सास फुलाउदै संघर्ष गर्न बुज्रुक अघि म एक वयस्क र सक्षम नारीले आफ्नो गरिमा कायम गर्नु नै पर्छ ।

ओहो, सासु आमा नजिकै थिइन हुलिया हेरे कर्के नजरले; हातमा बाल्टिन र छिपछिपे हिलोमा लतपतिएको फरियामा थिइन । आज पनि भैंसीले फाँचोमा हात लगाउन दिएन क्यारे । हेर्दा पनि मुर्मुरिए जस्ती, लामालामा सासको फड्कोले नै गोली र बारुदको भन्दा ज्यादा शक्ति प्रवाह गर्दै वरिपरि भग्नावशेष पर्लिन जस्ती तर मेरो अहो भाग्य, केही पनि नबोली भित्र पसिन । हिजै मात्र पाडो फ्याकेको भैंसीले सुने आवाज दिइरहेथ्यो आफ्नो बच्चालाई । अज्ञानी जात, बुझेन कि यस्ले आफ्नो बच्चा गुमाइसकेको थियो र पनि आवाज दिइरहेको थियो । सायद त्यही जनवार भइदिएकी भए नि हुने कुनै आशा राखेर आफ्नो सन्तानलाई पुकारीरहेको हुँन्थेँ होला, आफ्नी शशीलाई ।

डोको र खुकुरी बोकेर हिडेँ । आज पारी जगरा पुग्नु थियो । तुहिने पुल पनि नाम मात्रको थ्यो । पानीको उच्च बाहव देखेर होकी मेरो कमजोरीले मेरा आँखा तिर्मिराउन छाडेका थिएनन् ।

वर्षाले गर्दा बारीमा घाँस हरियो र मौलाएको देखेँ सिम तिर घाँस काट्न के मुठ्याएकी मात्र थिए सिमका जुका त स्याउस्याउति हातै भरि । काहालिएँ नमज्जाले । अनि वर आएर भीरको खर मज्जाले काट्न थाले । एकलास जंगलमा अस्पष्ट गोठालाको मुरली गुञ्जयमान थियो । मुरलीको धुनमा मैले पनि तिरिरि मुरली बन्यो वनैमा थपिदिए । आज किन आफ्नो स्वर आफैला्ई बढो मीठो लागिरहेथ्यो । हुन त गीत त्यति नगाउने र कम बोल्नेमा दबिएको स्वर गीतको भाका सर्दै जादा काम्न थाल्यो र टक्क अडिए । पर डिलबाट कोही हाइ हाइ गर्दै थियो । कान्ला उक्लिए र उहि रमेश आज पनि । रमेश म भन्दा पाँच वर्ष जेठा हुन । आज पनि देख्छु उनी तिनै बारीमा बादर रुग्ने, आलु ड्याङ्गमा दुम्सी पासो थाप्ने र वन बिरालो भगाउने बाहेक अरु केही नै गर्दैनन् । तर फरक आज उनैलाई एक परिपक्क लक्का जवान देखेँ । बस्नका लागि एउटा फल्याकको बस्ने बनाएका रैछन र छेउमा घन्कने रेडियो । उनी जन्मै देखि यस्तै हुन लाटा लठेब्रा । आमा बावुका पाँच भाइ छोरा भए नि सबै डाँडापाखा लागिसके आफ्ना स्वार्थका खोजीमा छन त बस् यिनै रमेश आमा बाबाका साथी तर उनीहरुको शेष पछि उनको के गति होला चिन्ता लाग्थ्यो । दुबै जना हाइहाइ गर्दै थियौं, रमेश टक्क रोकिए । हत्पत्त कुदे उनी, म पनि पिछा लागे । ओहो, तल्लो गरोबाट उक्लेर बाख्राले सबै धानको ब्याड निखारेछ । कमलाको ब्याड थ्यो त्यो । अन्दाधुन्द दगुर्दै खेदायो पारी तिर । ब्याड मूनि हेरे मकै घारी बीचमा कोदो बारी, तल तरकारी बारी अनि कमलाको घर । उमेरमा बिहे गरिनन्, आफ्नो अंशकालागि दाजुभाइहरुसंग लड्ने हक्की उनले आफ्नै सानो दुनियाँ बनाएकी थिइन । कोदो लगाउथिन, तरकारी फलाउथिन, हाटमा आफ्नो उत्पादन बेच्थिन र आमा पनि त पालेकी थिन । दुनियाँले देख्दा एउटा लोग्ने मान्छेको आड नभएकी भन्लान तर म भने उनको आँट र दृढ भावनाको बहुत सम्मान गर्थे । त्यो समय लाग्यो कि पूरा पूरा समाज समक्ष उनको सच्चाइको वकालत गरुँ । देखिन भने भलाकुसारी गर्न डाकिहाल्थिन् कसो कसो तर्केर हिडँे ।

आज त असार पन्ध्र । आज हाम्रो पनि रोपाइँ । बिहान पिँडीबाटै देखेथे कालेले गोरु जोताउँदै गरेको । यहाँ आइपुग्दा बाउसे टोली अर्को कान्ला उक्लिसकेछ, रोपाहाहरु तल्तिर । काले देख्ने बित्तिकै कराउन थाले ओहो हल्दारनी साहेबा आज त रुझाउनै प¥यो ।...हल्दारनी मेरो पति हल्दार भएर । चाहिदैन्थ्यो त्यो पहिचान मलाई । भर्खरै कमलाको बारे सोच्दै आउँदै थिएँ दिल दिमाग उच्च पार्दै । मलाई पनि एकल पहिचान चाहिएको थियो मात्र आफ्नो । यो शशीकी आमा र हल्दारनी दुबै पहिचानले मलाई खुम्च्याँउथ्यो र सोच्न बाध्य गराउथ्यो कि के यी बिना मेरो कुनै अस्तित्व नै छैन त ।

गोरुसंगै नारिएका कालेलाई देखेँ । धेरै वर्ष भइसक्यो कालेको परिवारले हाम्रो जमिन कमाउन थालेको । चार जना लालाबाला श्रिमति र आफू एकको जहान । कति खटिन्थे उनी । कालेका बारे सोच्दा सोच्दै आफ्ना श्रीमान, काले र रमेशलाई एकैपटक दाज्न पुगेछु । पुरुष हुँदो हो त कि काले जस्तो जो आफ्नो ज्ञान र सम्झले नारीलाई सम्मान दिने कि त रमेश जस्तो जस्लाई हेपेर वा आफ्नो सर्वच्चता कायम गरेर भएपनि नारी घर सम्हाल्न सक्थि । दहि चिउराले मुख चटाएँ र अब घर जानुथ्यो । जंगलको बाटो छोटो भएकाले अलि अलि नपुगेको बुट्यान बटुल्न पाउथे भन्ने लागेर जंगलकै बाटो अपनाए । दिन क्रमश धमिलिदै थियो । केही नपुगेको जस्तो कसैको अनुपस्थितिमा आँस्ु सरी झरी वर्षत गराउला जस्तो । मेरो मन शशीलाई सम्झेर भक्कानिदै थियो । हुन पनि किन नहोस् म शशीको बहुत समीप थिएँ । ला, ब्वाँसाका आवाज । मेरी शशी कति डराई होली । एकाएक मुटुको धड्कन घाँटीमा आएर अड्किए झै लाग्यो । सास भारी हुँदै आयो र सिधा चल्नु पर्ने मेरा पाइलाहरु ज्ांगल तिर मोडिन थाले । मेरो दिमागमा त रिक्तता मात्र थियो र के गर्दैथे केही हेक्का नै थिएन । मग्मगाउँदो चिसो माटोले मलाई आफु तिर संकेत गराउदैथ्यो जस्तै लाग्यो । हत्तपत्त माटो खोस्रिन थाले एकै पटक तल भन्द तल, छिटो भन्दा छिटो खजना तिर लालायित भए झैं । अन्तत माटोले ढाकिएकी पुतलीका झै आँखा बन्द गरेकी सेतो मैलो जामा लगाएर चुपचाप निदाएकी शशीलाई देखेर डाँको छोडी रुन थालेँ । एकछिन केहि नबोली बस्न नसक्ने मेरी शशी आज मौन थिई खस्रो छाला र फोहोर अवस्थामा थिई ऊ । फोहोरी बस्न पट्क्कै मन नपराउने ऊ । आफैलाई गाली गरेँ कि कसरी मैले उसलाई त्यति टाढा त्यस्तो अवस्थामा रहन दिएँ होला सोच्दै । घरि म्वाइँ खादै घरि अंकमाल गर्दै घण्टौ घण्टौ त्यही बिताएँ । कतिखेर चेत हराएछ । चेत फिर्दा पनि शशी मेरै काखमा परिरहेकी थिई । शशी भइन्जेल मेरो जीवनको सार थियो । काम बाट लखतरान भएर कोलाहमय घर टेके पनि उसको मन्द हाँसो, मीठो बोली थ्यो जस्ले मेरो सारा थकान पलभरमा हटाइदिएर जीउमा स्फूर्ति भरिदिन्थ्यो । चेतनाले फेरि मलाई झक्झकाउन थाल्यो । शशी हुनुको आभाष त्यस शरीरबाट हराइसकेको थियो । थियो त केबल एक मृत शरीर, एक सिनो । माटो खोस्रिए शशीलाई पुनः त्यहीँ राखे र उसको सुन्दर शरीरमा माटो हाल्न थालेँ । मेरी शशी गाविदै तल भन्दा तल पुगी र एकछिनमा देखिन छाडी । म पनि आफ्नो स्फूर्ति जम्मा पार्दै चार पाउ टेक्दै जगंलबाट बाहिर निस्के र फेरी पनि शशीलाई भेट्न आउने वाचा गर्दै अध्यारोमा आफ्नो गन्तव्य तर्फ लागें ।

—समाप्त —